काठमाडौ – मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ ।
मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरूको बारेमा स्पष्ट जानकारी गराएका हुन् ।
मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयं सेवकहरूमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता भट्टराईले बताए । मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्नेछ । यदि कुनै कारणवश मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको खण्डमा मतदाताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
मतदान केन्द्रमा पुगेपछि मतदाता नामावलीमा नाम रुजु गराइनेछ । त्यसपछि मतदातालाई पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ । गोप्य मतदान कक्षमा गएर आफूलाई मन परेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाई प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नुपर्नेछ ।
प्रत्यक्षतर्फ मतदान गरे लगत्तै मतदातालाई समानुपातिक तर्फको मतपत्र उपलब्ध गराइने प्रवक्ता भट्टराईले बताए । जसमा आफूलाई मन परेको राजनीतिक दलको चुनाव चिन्हमा छाप लगाई अर्को मतपेटिकामा खसाल्नुपर्नेछ । भिडभाड कम गर्न र सहजताका लागि मतदान केन्द्रमा प्रवेश गर्ने र बाहिर निस्कने छुट्टाछुट्टै ढोकाहरूको व्यवस्था गरिएको छ ।