सर्लाही। प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै सर्लाहीस्थित नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार जारी गरेको ‘अत्यन्त जरुरी सूचना’ अनुसार निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म जिल्लास्थित सम्पूर्ण नेपाल-भारत सीमा नाका बन्द रहने जनाइएको छ।
फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न हुने कार्यक्रम रहेको र सो अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीमा नाका बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिएका छन्।
प्रशासनले निर्वाचन अवधिमा आवतजावत तथा सुरक्षासम्बन्धी व्यवस्था पालन गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ।