काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः धम्की दोहोर्याएका छन् । वासिंगटनसँग सम्झौता गर्न तेहरानसँग करिब १० देखि १५ दिनको समय रहेको, अन्यथा थप सैन्य आक्रमणको सामना गर्नुपर्ने उनको संकेत छ ।
बिहीबार वासिंगटन डीसीमा आयोजित ‘बोर्ड अफ पिस’को उद्घाटन बैठकमा ट्रम्पले गत वर्षको जुनमा इरानविरुद्ध गरिएको संयुक्त इजरायली–अमेरिकी आक्रमणले नै गाजामा युद्धविरामको बाटो प्रशस्त गरेको तर्क गरे ।
ट्रम्पले यदि, इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमण नभएको भए इरानको खतराका कारण यस क्षेत्रका देशहरू शान्ति कायम गर्न सहमत नहुने तर्क गरे ।ट्रम्पले भने, “त्यसैले अब हामीले यसलाई एक कदम अगाडि लैजानुपर्ने हुन सक्छ । सायद, हामी एउटा सम्झौता गर्नेछौँ । तपाईंहरूले आगामी १० दिनभित्र यसबारे थाहा पाउनुहुनेछ ।”
ट्रम्पको यो टिप्पणी अमेरिका र इरानबीच दोस्रो चरणको अप्रत्यक्ष वार्ता भएको केही दिनपछि आएको हो ।
बुधबार इरानका विदेशमन्त्री अब्बास आराघचीले जेनेभामा भएको वार्तामा दुवै पक्षले कठिन वार्तामा राम्रो प्रगति गरेको बताएका थिए ।
तर, अमेरिकाले खाडी क्षेत्रमा दुईवटा विमानवाहक पोत र दर्जनौँ लडाकु विमानसहित आफ्ना सैन्य स्रोतहरू परिचालन गरिरहेको छ । अलजजिरा