धनकुटा । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो ।
संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेको अवस्थामा राई कारागारबाट भागेका थिए ।
त्यस्तै चौविसे गाउँपालिका–३ का ३४ वर्षीय सिजन तामाङलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । अङ्गभङ्ग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका उनी कारागारबाट भागेका थिए ।
लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि गाउँपालिका–७ का संगम माझी र साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
कर्तव्य ज्यान तथा चोरी मुद्दामा २० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका चौविसे गाउँपालिका–२ धारापानीका ४६ वर्षीय रमेश पाङ्मी मगर तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरीको धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रमुख प्रहरी उपरिक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी कारागार बुझाइएको एसपी थापा क्षेत्रीले जानकारी दिए ।