मोरङको रंगेली बजार क्षेत्रमा दिल्लीबाट आएकी महिलाबाट कोरोना फैलिएको स्थानीय सरकारले निष्कर्ष निकालेको छ ।
रंगेली नगरपालिका वडा नम्बर ७ मा पर्ने बजार क्षेत्रमा मात्रै ५८ जना कोरोना संक्रमित छन् । लकडाउनमा विरामी बुबालाई हेर्न भन्दै दिल्लीबाट आएकी महिलाबाट आफन्त हुँदै बजार क्षेत्रमा कोरोना फैलिएको स्थानीय सरकारले निष्कर्ष निकालेको हो ।
बुबा विरामी भएपछि ती महिला असार २४ गते विराटनगर महानगरपालिकाले दिएको सिफारिसका आधारमा नेपाल प्रवेश गरेकी थिइन् । होटल क्वारेन्टाइनमा बस्ने सर्तमा भित्रिए पनि क्वारेन्टाइनमा नबसी घर पुगेकी महिलाबाट आफन्त हुँदै रंगेली बजारका ५७ जनालाई कोरोना सारको हो ।
नगरपालिकाले अध्ययन गर्दा दिल्लीबाट बुबालाई हेर्न आएकी महिलाबाट कोरोना संक्रमण फैलिएको देखिएको रंगेली नगरपालिका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले बताए ।
उनका अनुसार रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुगेको छ । ती मध्ये ५८ जना वडा नम्बर ७ का छन् । संक्रमित मध्ये एकै परिवारका १४ जना छन् । दिल्लीबाट आएकी महिला १४ जना संक्रमित परिवारकी सदस्य हुन ।
बुबा विरामी भएपछि उनी हेर्न आएकी हुन । तर उनी आएको केही दिनपछि ३ साउनमा बुबाको मृत्यु भयो । मारवाडी समुदायका मृतक पुरुष कांग्रेसका स्थानीय नेता हुन । उनको मृत्यु संस्कारमा सघाउनका लागि आफन्त र स्थानीय भेला भएका थिए । मृत्यु संस्कारमा भेला भएकाहरुमा संक्रमण देखिएको हो ।
‘दिल्लीबाट महिला आएको नगरपालिकालाई जानकारी थिएन् ।’ मण्डलले भने ‘ महिलाबाट परिवारमा सर्याे, त्यसपछि मृत्यु संस्कारमा सघाउन र सान्तवना दिन पुगेका छिमेकीमा पनि कोरोना सर्याे ।’
महिलाले विराटनगर महानगरपालिकाको सिफारिसमा होटल क्वारेन्टाइनमा बस्न भन्दै भारतबाट आएकी थिइन् ।
विराटनगर–१० नम्बर वडा कार्यालयले उनलाई होटल क्वारेन्टाइनमा बस्नेगरी पत्र बनाइदिएको थियो । तर ति महिला होटल क्वारेन्टाइनमा बसिनन् । बिरामी भएका बुबालाई हेर्न गइन् ।
३ साउनमा बुबाको मृत्यु भएपछि उनी परिवारका अन्य सदस्यसँगै मृत्यु शंस्कारमा बसेकी थिइन् । शंकास्पद स्थानबाट आएकी महिलाले सतर्कता नअपनाउँदा संक्रमण फैलिएको हो ।
भारतबाट जानकारी नदिइ आएकी महिलाबाट बजारमा जोखिम बढेको रंगेली नगरपालिका– ७ का अध्यक्ष रामचन्द्र मण्डलले बताए ।
बजार क्षेत्रबाटै रंगेलीका अन्य वडामा पनि काेराेना फैलिएकाे नगरपालिकाले जनाएकाे छ ।
संक्रमितलाई राख्न नगरपालिकाले छुट्टै १०० बेडको आइसोलेशन बनाएको छ । नगरपालिकाले निर्माण गरेको आइसोलेशन जिल्ला अस्पताल रंगेलीका स्वास्थ्यकर्मीकाे निगरानीमा सञ्चालित छ ।