सरकारले कोरोना भाइरस रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।
साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्याइएकाे हो तर माल सामान ढुवानीको लागि सीमा खुला नै रहनेछ ।
सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने छ । तर सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु कसरी सुचारु गर्ने भन्नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ ।
सरकारले यसअघि चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो ।
उक्त समितिको सिफारिसका आधारमा कोभिड-१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।