झापा । पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् ।
असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुई पाङ्ग्रे सवारीसाधन संलग्न छन् ।
प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटना सवारीसाधनको सङ्ख्या भने चार सय ८८ छन् । तीमध्ये दुई पाङ्ग्रे तीन सय २६, चार पाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२ र पहिचान हुन नसकेका तीन वटा सवारीसाधन रहेका उनले जानकारी दिए ।
सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने छ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो । सोबापत कार्यालयले रु. ५९ लाख ८१ हजार ५३३ राजस्व संकलन गरेको छ ।