तनहुँ । भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्य स्थलका रूपमा विकास भएको छ । यहाँ फूलको डोली भित्र्याउन देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
कात्तिकको दुई वटा मंगलवारमा १५ हजार भन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेका थानीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कात्तिकको दोस्रो र तेस्रो मंगलवार मन्दिरमा १५ हजार ५५७ जना भक्तजनले दर्शन एवं पूजाआजा गरेका समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए । उनका अनुसार कात्तिकको दोस्रो मंगलवार (११ गते)आठ हजार र तेस्रो मंगलवार (१८ गते) सात हजार ५५७ जना भक्तजनले पूजाआजा गरेका हुन् ।
कात्तिकको पहिलो मंगलवार औँसी तिथि परेकाले फूलको डोली नभित्र्याइएको थापाको भनाइ छ । उनका अनुसार दुई वटा मंगलवार मन्दिरमा एक सय ४४ वटा फूलको डोली भित्रिएको छ ।
अध्यक्ष थापाले तनहुँबाट ५९, लमजुङबाट ३५, गोरखाबाट २३, चितवनबाट १६, काठमाडौँबाट तीन, कास्कीबाट सात र नवलपरासीबाट एक डोली भित्रिएको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मंगलवार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।
ती महिनाका मंगलवार मन्दिरमा फूलको डोली चढाउने सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको समितिका अध्यक्ष थापाले बताए ।
उनका अनुसार भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीन पटक नाचगान गर्दै परिक्रमा गर्दछन् । “परिक्रमापछि माथि थुम्कास्थित मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना तथा भाकल पूरा होस् वा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गर्दछ”, उनले भने ।
प्रत्येक सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा उक्त डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।
समुन्द्री सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु. १४ लाख र मन्दिरको भेटीबाट संकलित रु. छ लाख गरी रु. २० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको थियो ।
विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटेनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तर्ध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि उक्त स्थानमा पूजाअर्चना सुरु भएको ज्येष्ठ स्थानीय बताउँछन् ।