![नाबालिकालाई देहव्यापारमा लगाउने रेस्टुरेन्ट सञ्चालकद्वय पक्राउ](https://ktmdainik.com/wp-content/uploads/2024/05/nabalika.jpg)
काठमाडौँ । नाबालिकाहरूलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौँको मित्रपार्कमा स्वागतम् रेस्टुरेन्ट एण्ड बारका सञ्चालकद्वय मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र निशा भन्ने रमिला नेपालीलाई शुक्रवार नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी श्रृजनाको स्थायी घर दोलखा जिरी नगरपालिका-९ र रमिला नेपालीको नुवाकोट वेलकोटगढी-४ रहेको छ ।
उनीहरूले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकालाई रेस्टुरेन्टमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पीडित बालिकाको इच्छा विपरीत दैनिक पाँचदेखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको खुलेको छ । ग्राहकसँग शारीरिक सम्पर्क राखेबापत आधा रकम दिने भनेता पनि पीडितले रकम नपाउने गरेको प्रहरीसामु बताएकी छन् ।
उद्दार गरिएकी पीडित बालिकालाई सुरक्षित आवासमा गृहमा राखिएको र पक्राउ परेकी महिलाउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।
यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास जारी छ ।