
भोजपुर । बाँदरको समस्याका कारण यहाँका किसान समय अगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मङ्सिर-पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज-कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।
बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ । भोजपुर नगरपालिका-५ बोखिमका किसान भीमप्रसाद फुयाँलका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ । “बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ”, उनले भने, “तर्साउन ढुंगा हान्ने गरे पनि नियन्त्रणमा आउँदैन । छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन ।”
जिल्लाको प्रमुख नगदे बालीका रूपमा सुन्तला खेती पहिचान हुँदै आएको छ । तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ । समय अगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय किसान गीता कार्कीले बताइन् । किसानले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।