
काठमाडौं– रौतहटको गौरमा सुडकेशभित्र भेटिएको रुवीकुमारी साहको शव भेटिएको प्रकरणमा हत्या स्वीकार गरेका लक्ष्मण पासवानले आत्मदाह गरे पनि अस्पताल लगिएको छ।
रुवी उनको स्कुलेजीवनदेखिको साथी र पहिलो प्रेम रहेको उनले तयार पारेको भिडिओमा फेला परेको छ। उनले फेसबुकमा भिडिओ पोस्ट गरेर रुवीकुमारीको हत्या गरेको स्वीकारसहित अनेक विषयको खुलासा गरेका छन्।
रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन्। पहिलो प्रेम रहेको र आर्थिक स्थिति नराम्रो रहेको उल्लेख गरेका उनले रुवीकुमारीलाई आफूलाई मार्न भनेको तर रुवीले पनि मार्नका लागि भनेको उल्लेख गरेको विवरण आएका छन्।
रुवीकुमारीको हत्या गरेदेखि हात काँपीरहेको बताएका उनले बाँचे पनि १५ बर्ष जेल जानुपर्ने भएकाले आत्मदाहको निर्णय गरेको उल्लेख गरेका छन्।
हत्या अघि रुवी ब्यूटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको खुलाएका उनले भनेका छन्,‘मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ।’
स्कुलको बेलादेखि आफूहरुबीच सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको उनले बताएका छन्।
गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुवीकुमारी साहको शव भेटिएको थियो। माधव नारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हत्याका मुख्य आरोपी पासवान आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बुधबार भेटिएको छ।