
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि चारै वटै ढोकाबाट व्यवस्था गरिने लगायतका प्रबन्ध गरेको छ ।
कोषको आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११ बुँदे चरणहरूबारे जानकारी गराएको छ ।
जसमा गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, मित्र पार्क-जयवागेश्वरी-पाचागणेश-भिमसेनस्थान-भूवनेश्वरी-शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
त्यसैगरी, पिंगलास्थान-चारशिवालय पञ्चदेवल-बज्रघर-दक्षिण ढोकासम्मको लाईनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउँको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।
र तिलगङ्गा – राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्री पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई फर्कने सक्ने कोषले जानकारी दिएको छ ।
त्यस्तै, दर्शनका लागि बिहान ३ बजेदेखि जान सकिन्छ ।
त्यस्तै, सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाको समेत सहयोग गरिने कोषले जनाएको छ ।
त्यस्तै, सादा पोसाकमा समेत सुरक्षाकर्मीहरू खटाइने कोषको भनाइ छ ।