
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको श्रावण महिनाको प्रगति विवरण अनुसार कुल ६८,११० जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा पुरुषको संख्या अत्यधिक रहेको छ ।
विभागको तथ्यांक अनुसार, श्रावण महिनामा ५८,९४८ जना पुरुष र ९,१६२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो संख्याले वैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये महिलाको हिस्सा करिब १३.४५ प्रतिशत मात्र रहेको देखाउँछ ।
श्रम स्वीकृति लिनेहरूमध्ये सबैभन्दा ठूलो संख्या म्यानपावर कम्पनीमार्फत जानेहरूको छ ।
श्रावणमा ३१,८३० जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्, जसमा २९,१३० पुरुष र २,७०० महिला छन् । सोही अवधिमा २३,६४४ जनाले पुनस् श्रम स्वीकृति लिएका छन्, जसमा २०,५४७ पुरुष र ३,०९७ महिला रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ११,७७२ रहेको छ ।