काठमाडौं । नेपाल संवत् ११४७ आजदेखि सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन आज नेवार समुदायले म्ह पूजा गरी नेपाल संवत्को स्वागत गर्दैछन्। नेपाल भाषामा ‘म्ह’ को अर्थ शरीर भएकाले म्ह पूजालाई शरीर पूजा भनिन्छ। यस दिन आफ्नै शरीरको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्ने परम्परा छ।
नेपाल संवत् चन्द्रमासमा आधारित संवत् हो। यसको गणना चन्द्रमाको गतिअनुसार गरिन्छ। जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार र सांस्कृतिक विधि तिथिअनुसार सञ्चालन हुनु यसको विशेषता हो। नेपालका मौलिक परम्परा र संस्कृतिसँग जोडिएको यस संवत्का प्रवर्तक शंखधर साख्वा हुन्।
नेपाल संवत्को सुरुआतबारे विभिन्न किंवदन्ती प्रचलित छन्। एउटा किंवदन्तीअनुसार शंखधरले विशेष साइतमा घर ल्याएको बालुवा सुनमा परिणत भएको थियो। त्यही सम्पत्तिबाट उनले जनतालाई ऋणमुक्त गराएको र त्यसैको स्मरणमा नेपाल संवत् सुरु भएको विश्वास गरिन्छ। अर्को किंवदन्तीअनुसार व्यापारी शंखधरको आर्थिक प्रगति देखेर आफन्तले राजासमक्ष उजुरी गरेका थिए। त्यसपछि राजाबाट सजाय पाएका उनले पछि निर्दोष ठहरिएर सम्पत्ति फिर्ता पाए। त्यही सम्पत्तिबाट जनताको ऋण तिरेर नेपाल संवत् सुरु गरेको अर्को विश्वास छ।
नेपाल भाषामा तिहारलाई ‘स्वन्ति’ भनिन्छ। यस पर्वमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजासहितका विभिन्न सांस्कृतिक अनुष्ठान गरिन्छन्। नेपाल संवत्अनुसार लक्ष्मी पूजालाई वर्षको अन्तिम दिन मान्ने परम्परा छ। त्यसैले नेवार समुदायका व्यवसायीले यस दिनलाई आर्थिक वर्षको अन्त्यका रूपमा लिने गर्छन्। लक्ष्मी पूजाका दिन वर्षभरको कारोबारको हिसाबकिताब बन्द गरी नयाँ वर्षका लागि नयाँ खाता खोल्ने चलन छ।
म्ह पूजा आफ्नै शरीर र अस्तित्वप्रति सम्मान प्रकट गर्ने मौलिक सांस्कृतिक परम्परा हो। नयाँ वर्षको पहिलो दिन परिवारका सदस्यले आ–आफ्नो शरीरको पूजा गरी आगामी वर्ष सुस्वास्थ्य र सुखमय रहोस् भन्ने कामना गर्छन्।
नेपाल संवत् ११४७ को अवसरमा सबैमा न्हु दँया भिन्तुना!