काठमाडौँ । बडादसैँ नजिकिएसँगै देश तथा विदेशका विभिन्न स्थानबाट आफ्नो गाउँघर फर्किनेहरूको चहलपहल बढेको छ। हवाई तथा स्थलमार्ग हुँदै गन्तव्यमा पुग्न यात्रुहरूलाई भ्याइनभ्याइ छ। तर, यात्रुको चाप बढेसँगै टिकट पाउन कठिन हुनुका साथै यात्रा महँगो र कष्टकर बनेको छ। पैसा खर्च गर्न तयार भए पनि यात्रुहरूले आफूले चाहेअनुसार सहज यात्रा गर्न पाएका छैनन्।
लामो दूरीको यात्रा, महँगो भाडा र बाटोमा भोग्नुपर्ने अनेकौँ सास्तीका बाबजुद दसैँमा परिवार, आफन्त र इष्टमित्रसँग भेटघाट गर्ने चाहनाले यात्रुहरूलाई घरतर्फ डोर्याएको छ। विशेषगरी कर्णाली प्रदेशका हिमाली जिल्लास्थित दुर्गम गाउँ पुग्नेहरूको यात्रा अझ जटिल र पट्यारलाग्दो हुने गरेको छ। तथापि, घर पुगेर दसैँ मनाउने व्यग्र चाहनाले यात्राको कठिनाइ बिर्साउन मद्दत गरेको छ।
अमेरिका र युरोपभन्दा रोजगारीका लागि खाडी मुलुक तथा भारतका विभिन्न सहर पुगेका नेपालीहरू पनि दसैँ मनाउन घर फर्किरहेका छन्। वर्षौँदेखि भेट्न नपाएका परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग पुनर्मिलन हुने आशाले उनीहरू लामो र खर्चिलो यात्राको दुःखसमेत सहजै सहिरहेका छन्।
दसैँ र तिहार पारिवारिक पुनर्मिलन, सामाजिक एकता, आपसी सद्भाव र प्रेम साटासाट गर्ने अवसर भएकाले सहर छाडेर गाउँ फर्किनेहरूमा छुट्टै उत्साह देखिन्छ।
भारतको बैंगलोरबाट घर फर्किएका जुम्लाको तिला गाउँपालिका–४ का नमराज शाहीले सहरको कोलाहलबाट गाउँ पुग्दा शान्तिको अनुभूति भएको बताए।
दसैँ मनाउन गाउँ पुगिसकेका शाहीले गाउँको सामाजिक सम्बन्ध र आत्मीयताको प्रशंसा गर्दै भने, “गाउँमा घरहरू छुट्टाछुट्टै छन्, तर सोच, मन र मानवीय भावना निकै नजिक छन्। विडम्बना, सहरमा घरहरू जोडिएका भए पनि मानवीय भावना र आपसी सद्भावको खडेरी देखिन्छ। मानव सम्बन्धमा समेत दरार आएको जस्तो लाग्छ।”
उनका अनुसार दसैँ नजिकिएसँगै गाउँमा रमाइलो सुरु भएको छ। गाउँघरमा सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत र मासलगायतका बाली भित्र्याउने चटारो छ। नयाँ अन्न भित्र्याएपछि न्वागीका रूपमा खाने, आफूसँग भएका उत्पादन छिमेकीसँग साटासाट गर्ने, पिङ खेल्ने तथा दुःखसुख बाँडेर चाडपर्व मनाउने क्रम चलिरहेको छ।
दुर्गम गाउँ पुग्न दुई दिनसम्मको यात्रा
कर्णाली राजमार्ग हुँदै दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु र सुर्खेत पुग्ने यात्रु हुन् वा भेरी करिडोरमार्फत सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जानेहरू, धेरैले कठिन यात्रा पार गरेर मात्रै घर पुग्नुपर्ने बाध्यता छ।
रोजगारी तथा अन्य अवसरको खोजीमा घर छाडेर देशका विभिन्न सहर र विदेश पुगेका नेपालीहरू बडादसैँ मनाउन गाउँ फर्किने क्रम भने जारी छ।
सुर्खेत–दैलेख–कालीकोट हुँदै कर्णाली करिडोरबाट बाजुरा भएर हुम्लाको अदानचुली गाउँपालिका पुगेका मनरूप परियारले दुई दिनको यात्रापछि घर पुग्न सफल भएको बताए।
“दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिँड्नुपर्यो। आज बिहान मात्रै घर पुगियो,” उनले भने, “सहर छाडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ। मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ।”
गाउँमा दसैँको रौनक, सहरमा चहलपहल घट्दो
दसैँ तथा दीपावली मनाउन नागरिकहरू गाउँ फर्किन थालेपछि सहरमा मानिसहरूको आवतजावत र चहलपहल घट्दै गएको छ। रोजगारी तथा अध्ययनका सिलसिलामा सहरमा बसोबास गर्नेहरू गाउँ फर्किएपछि बजार, सडक र बस्तीमा दसैँअघिको सामान्य चहलपहलसमेत कम हुन थालेको छ। विमानस्थल र बसपार्कमा भने गाउँ फर्किने यात्रुको भीड देखिन्छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–३ बाट जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकुमारी सिंहले यात्राको दुःखभन्दा मातृभूमि पुग्ने चाहना बलियो भएको बताइन्।
“रोजगारी र अवसरका हिसाबले घर छाडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो,” उनले भनिन्, “सामाजिक अपराध, चिच्याहट, अमानवीयता तथा सहयोग आदानप्रदानका दृष्टिले सहरभन्दा गाउँ नै सम्पन्न छन्। सहरको धुमिल वातावरण हेर्दा झुपडीमै शान्ति मिलेजस्तो अनुभूति हुन्छ।”
सिंहका अनुसार यतिबेला सहरभन्दा गाउँमा आशा, एकता, सद्भाव र पारिवारिक मिलनको रौनक बढेको छ। गाउँ फर्किनेहरूका लागि दसैँ केवल चाडपर्व मात्र नभई परिवारसँग पुनर्मिलन गर्ने, आत्मीयता साटासाट गर्ने र आफ्नो माटोसँग जोडिने विशेष अवसर बनेको छ।
यात्रा जति नै कष्टकर र खर्चिलो भए पनि घर पुग्दाको खुसीले त्यसको पीडा बिर्साइदिने गरेको छ। यही खुसी र आत्मीयताको खोजीमा हजारौँ नेपाली लामो बाटो छिचोल्दै आफ्नो गाउँघर फर्किरहेका छन्।