काठमाडौँ । नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा आज काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
महाअष्टमीका अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजन देवीको पूजाआराधना तथा दर्शनका लागि पुगेका छन् । महाअष्टमीका अवसरमा मन्दिरहरूलाई ध्वजापताकाले सजाइएको छ ।
राससका स्थानीय समाचारदाताहरूका अनुसार दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती तथा राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली र बाराको गढीमाई मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।
शारदीय नवरात्रका रूपमा मनाइने यस पर्वमा शक्तिपीठमा पुगेर देवीको दर्शन तथा पूजाआराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । नवरात्रका अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । नौ दिनसम्म विधिपूर्वक साधना र आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।