काठमाडौँ । बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गर्ने चलन छ। पुराणहरूमा उल्लेख भएअनुसार महागौरीको वर्ण पहिले कालो थियो। भगवान् शिवले ठट्टा गर्दै देवीलाई ‘काली’ भनेपछि उहाँले कठोर तपस्या गरी गौर वर्ण प्राप्त गर्नुभएको र त्यसपछि महागौरी नाम रहन गएको धार्मिक मान्यता छ।
शास्त्रीय ग्रन्थहरूमा महागौरीलाई सेतो वृषभमाथि विराजमान, गौर वर्णकी तथा श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ।
नवरात्रको पहिलो दिन गत असोज २५ गते आइतबार दसैँघर तथा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो। सोही दिन नवदुर्गाकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिएको थियो। सातौँ दिन शनिबार फूलपाती पनि भित्र्याइएको थियो।
आज आठौँ दिन महागौरीको पूजा आराधना गरिँदैछ भने नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिने परम्परा छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्रको पाठ गर्ने चलन छ।
नवरात्रमा देवीको श्रद्धापूर्वक आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही मान्यताअनुसार वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष पूजा आराधना गर्छन्।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।