कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट पूजा घ्यूका नाममा बिक्री भइरहेको प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ।
कार्यालयको बजार अनुगमन टोलीले शुक्रबार वीरेन्द्रनगरस्थित पूजा पसल तथा स्टोरमा अनुगमन गर्ने क्रममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ फेला पारेको थियो। ‘श्रीकृष्ण पूजा घ्यू’ लेखिएका करिब दुई दर्जन बट्टामा रहेको उक्त पदार्थ जफत गरी सोही दिन नष्ट गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले जानकारी दिए।
दाहालका अनुसार दसैँ–तिहारलाई लक्षित गर्दै पूजा, होम, हवन तथा दीप प्रज्ज्वलनमा प्रयोग हुने चिल्लो पदार्थलाई घ्यूका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध हुँदाहुँदै पनि विभिन्न सहर तथा बजारमा यस्तो पदार्थ बिक्री भइरहेको पाइएको उनले बताए।
पहिलो पटक यस्तो पदार्थ बिक्री गरेको भेटिएकाले पसल सञ्चालकलाई सचेत गराइएको र पुनः यस्तै गतिविधि गरेको पाइएमा कारबाहीका लागि सिफारिस गरिने उनले स्पष्ट पारे।
चाडपर्वका बेला बजारमा उपभोक्ताको चाप बढ्ने र यही अवसरमा व्यापारीबाट कालोबजारी तथा गैरकानुनी कारोबार हुन सक्ने भएकाले अनुगमनलाई नियमित र तीव्र बनाइएको दाहालले बताए।
कार्यालय प्रमुख श्रीराम न्यौपानेका अनुसार सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले कर्णाली प्रदेशका १० जिल्लामध्ये सात जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर खाद्य स्वच्छता कायम गर्ने अभियान सञ्चालन गरिरहेको छ।
स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय गरी म्याद नाघेका र अखाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित बजार अनुगमन तथा निरीक्षण भइरहेको उनले बताए। जुम्लास्थित कार्यालयले भने जुम्ला, मुगु र कालीकोट जिल्लाको अनुगमन तथा निरीक्षण गर्दै आएको जनाइएको छ।