कञ्चनपुर । दसैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपाली यात्रुको कञ्चनपुरस्थित गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । चाडपर्वका बेला सीमा नाकामा हुने यात्रुको चापलाई ध्यानमा राख्दै विभिन्न सङ्क्रामक रोगको संक्रमण भित्रिन नदिन स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको हो ।
सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत मलेरिया, क्षयरोग (टीबी), एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
भारतबाट फर्किने यात्रुमा हुनसक्ने रोगको समयमै पहिचान गरी उपचार गर्ने र सङ्क्रमण फैलिन नदिने उद्देश्यले नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए ।
उनका अनुसार परीक्षणका क्रममा कुनै रोगको सङ्क्रमण देखिए सम्बन्धित व्यक्तिलाई अस्पतालमा ल्याएर निःशुल्क उपचार गर्ने व्यवस्था छ । टाढाका जिल्लाका नागरिकमा सङ्क्रमण देखिए सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरी उपचारको प्रबन्ध मिलाइने उनले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार भारतमा मलेरिया, डेङ्गुलगायत सङ्क्रामक रोग बढी फैलिएका क्षेत्रबाट आएका यात्रु तथा ज्वरो आएका व्यक्तिको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिने गरिएको छ ।
असोज महिनामा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा दुई जनामा क्षयरोग (टीबी) पोजेटिभ देखिएको छ भने अन्यमा सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो समय गड्डाचौकी नाका हुँदै दैनिक करिब दुई हजार मानिस नेपाल फर्किरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली दसैँ–तिहार मनाउन घर फर्किन थालेपछि नाकामा यात्रुको चाप बढेको हो ।
यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकासहित जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि न्यूनीकरण गर्न सुरक्षा निगरानीसमेत बढाइएको उनले बताए ।
सीमा नाकामा स्वास्थ्य परीक्षण र सुरक्षा निगरानी बढाइएपछि भारतबाट स्वदेश फर्किने यात्रुलाई सम्भावित सङ्क्रामक रोगको पहिचान, उपचार तथा सुरक्षित यात्रामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।