गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। बाढीले लघुजलविद्युत् आयोजना, विद्युत् पोल, तार तथा वितरण केन्द्रमा क्षति पुर्याएपछि चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न बस्तीमा विद्युत् सेवा अवरुद्ध भएको हो।
आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट आएको बाढीले चुमनुब्री गाउँपालिका–३ जगतमा रहेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो। आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका–३ र ६ मा विद्युत् सेवा अवरुद्ध भएको आयोजनाका अध्यक्ष सुजन गुरुङले जानकारी दिए।
उनका अनुसार लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन र सिर्दिबासलगायत बस्तीका ९७१ घरधुरी विद्युत् सेवाबाट प्रभावित भएका छन्।
बाढीले विद्युत्का १२ वटा पोल, एउटा टावर र तार बगाएको अध्यक्ष गुरुङले बताए। आयोजनाको पावरहाउस भने सुरक्षित रहेको उनको भनाइ छ।
“आइतबार बिहान ४ बजे बाढी आएदेखि यो क्षेत्रमा बिजुली छैन। बाढीले पोल, टावर र तार बगाएको छ,” उनले भने।
विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा उत्तरी गोरखाको जनजीवनसँगै सरकारी कामकाजसमेत प्रभावित भएको छ। चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार विद्युत् र इन्टरनेट नहुँदा पालिकाको प्रशासनिक काम ठप्प भएको छ। निजी सङ्घसंस्था तथा स्थानीय नागरिकले समेत समस्या भोगिरहेका छन्।
“बाढीले पुल, बाटो र बिजुली सबै बगायो। अहिलेको डिजिटल युगमा विद्युत् नहुँदा सूचना आदानप्रदानमा समस्या भएको छ,” सापकोटाले भने, “बाढी आएको समयमा फोन सम्पर्क गर्न सकेकै कारण सयौँ मानिसको ज्यान जोगिएको हो।”
फिलिमका केही घरमा जडान गरिएका सोलारबाट मोबाइल चार्ज गरी बाहिर सम्पर्क गर्ने गरिएको उनले बताए।
चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बाढीले सडक र पुल बगाएपछि एक गाउँबाट अर्को गाउँसम्म आवतजावत गर्नसमेत कठिन भएको छ। फिलिमबाट माथि र तल दुवैतर्फ जाने बाटो अवरुद्ध हुँदा स्थानीय थप समस्यामा परेका छन्।
“बाढीले पुल र बाटो सबै बगाएको छ। त्यसमाथि बिजुली नहुँदा क्षेत्र नै अन्धकार बनेको छ,” उनले भनिन्। बाढीका कारण उत्तरी गोरखाका अधिकांश बस्तीमा विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको उनको भनाइ छ।
यसैगरी, धार्चे गाउँपालिकाका सातवटै वडाका करिब चार हजार घरधुरी विद्युत्विहीन बनेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार बाढीले नेपाल विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा क्षति पुर्याएपछि धार्चे क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।
“बाढीले यहाँको बिजुली, सञ्चार, बाटोघाटो र पुल सबै बगायो,” बस्नेतले भने।
यस्तै, आरुघाट गाउँपालिकाको वडा नं. ५ स्थित शान्तिबजार क्षेत्रका ५० घरधुरीमा पनि विद्युत् सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए।
बाढीका कारण सडक, पुल, विद्युत् र सञ्चार सेवा प्रभावित भएपछि उत्तरी गोरखाका बस्तीको जनजीवन थप कष्टकर बनेको छ।