काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्ममा २० वाणिज्य बैंकले १७ अर्ब १ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको नाफा ७.३२ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्ष २०८२/८३ को भदौसम्ममा वाणिज्य बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए। समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा बढी १ अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा गत वर्षको सोही अवधिको १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँबाट ३५.८३ प्रतिशतले बढेको हो।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले १ अर्ब ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ थियो। त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा बैंकको नाफा ०.९१ प्रतिशतले बढेको हो।
नाफा वृद्धिदरका आधारमा भने हिमालयन बैंक सबैभन्दा अगाडि छ। बैंकले भदौसम्ममा ५७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ३७ करोड ७ लाख रुपैयाँभन्दा ५५.१३ प्रतिशत बढी हो।
समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउने बैंक नेपाल एसबीआई बैंक रहेको छ। बैंकले ४१ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा ३५ करोड ४५ लाख रुपैयाँ थियो।
अधिकांश बैंकले चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै नाफा आर्जन गरे पनि केही बैंकको सञ्चित नाफा भने ऋणात्मक छ। राष्ट्र बैंकको तथ्यांकअनुसार एनआईसी एसिया बैंकको सञ्चित नाफा सबैभन्दा बढी १० अर्ब ६७ करोड रुपैयाँले ऋणात्मक छ।
त्यस्तै, हिमालयन बैंकको सञ्चित नाफा ९ अर्ब ८४ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ६४ करोड रुपैयाँले ऋणात्मक रहेको छ।