सुनसरी । प्रहरीले सुनसरीको इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–३ सखुवागाछी चोकमा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्दा ८३ वटा बोरामा प्याक गरिएको गाँजा बरामद भएको हो।
प्रहरीका अनुसार बन्दागोभी बोकेको उक्त ट्रकमा लुकाएर गाँजा लैजाँदै गरेको अवस्थामा सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राई पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।