सिरहा। सिरहामा सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१ दरैयाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। उनीहरूले टाउकोमा बोकेर लैजाँदै गरेको ६ बोराबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।
उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद गाँजा र मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले जानकारी दिए।