रोयटर्स । सात महिनादेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिका र इरानले मध्यस्थकर्ताहरूमार्फत छुट्टाछुट्टै वार्ता गरेका छन्। दुवै देशका अधिकारीहरूले सोमबार भएको वार्ताको पुष्टि गरेका हुन्।
वार्ताबारे जानकार एक अधिकारीका अनुसार आगामी छलफलमा इरानले गत साता संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा अघि सारेको सातदिने युद्धविराम प्रस्तावको संशोधित स्वरूपमाथि केन्द्रित हुने अपेक्षा गरिएको छ।
गत फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध सात महिनादेखि जारी छ। युद्धका क्रममा हजारौँ मानिसको मृत्यु भएको छ भने तेल आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्गमा अवरोध उत्पन्न हुँदा अन्तर्राष्ट्रिय बजारसमेत प्रभावित भएको छ।
यसअघि अप्रिल र जुनमा मध्यस्थकर्तामार्फत अमेरिका र इरानबीच वार्ता भएको थियो। ती वार्ताबाट दुईपटक युद्धविरामको सहमति बने पनि दुवै सहमति छोटो समयमै भङ्ग भएका थिए।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमै रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाको जवाफको प्रतीक्षा गरिरहेको बताएका छन्। उनले इरानले अघि सारेको पछिल्लो युद्धविराम प्रस्ताव र होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पुनः सञ्चालन गर्ने विषयमा अमेरिकी धारणा अपेक्षा गरिएको बताए।
“यदि अमेरिकीहरू सम्झौता वा शान्तिपूर्ण समाधान खोजिरहेको दाबी गर्छन् भने हामीले त्यो समाधान प्रस्तुत गरिसकेका छौँ,” अरागचीले भने।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी अधिकारीहरूले सोमबार मध्यस्थकर्ताहरूसँग छलफल गरेको पुष्टि गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले वार्ताको विषयमा थप विवरण भने सार्वजनिक गरेनन्।