काठमाडौँ । खराब मौसम र कम भिजिबिलिटीका कारण आइतबार आन्तरिक हवाई उडान प्रभावित भएका छन्। मौसम प्रतिकूल हुँदा पहाडी तथा तराईका केही गन्तव्यमा उडान तालिका प्रभावित भएको हो।
बुद्ध एयरका अनुसार कम भिजिबिलिटीका कारण भरतपुर र तुम्लिङटार विमानस्थलबाट हुने उडान सञ्चालन हुन सकेका छैनन्। मौसममा सुधार आई भिजिबिलिटी पर्याप्त नबढेसम्म ती गन्तव्यका उडान सुचारु गर्न कठिन हुने कम्पनीले जनाएको छ।
यसैगरी, पोखरा विमानस्थलको भिजिबिलिटी भने क्रमिक रूपमा सुधार हुँदै गएको बुद्ध एयरले जनाएको छ। भिजिबिलिटीमा थप सुधार आएपछि पोखराका लागि उडान नियमित हुने अपेक्षा गरिएको छ।
मौसम प्रतिकूल रहेकाले आजका लागि तय गरिएका सबै माउन्टेन फ्लाइट पनि रद्द गरिएको छ। कम भिजिबिलिटीका कारण हिमाल स्पष्ट रूपमा देखिन नसक्ने तथा उडान जोखिमपूर्ण हुने भएकाले माउन्टेन फ्लाइट सञ्चालन नगरिएको बुद्ध एयरले जनाएको छ।