काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै केही स्थानमा सडक सञ्जाल नै टुटेको छ।
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा रात्रिकालीन सवारी आवागमनमा समेत पूर्ण रोक लगाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यकाअन्तर्गत ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिखेंधारामा असोज ९ गते बिहान गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
काभ्रेपलाञ्चोकको रोशी र धुलिखेल क्षेत्रमा गएको पहिरोका कारण बीपी राजमार्ग र अरनिको राजमार्ग बन्द भएका छन्। यस्तै, धादिङको बेनीघाट, कृष्णभीर, गजुरीलगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ।
प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्म धादिङ आसपासका क्षेत्रमा पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारी साधनलाई रोक लगाइएको छ।
यसैगरी, रसुवा र नुवाकोटका प्रमुख सडकहरू भदौदेखि नै बाढी र पहिरोका कारण प्रभावित छन्। नुवाकोटको पासाङ ल्हामु सडक खण्ड तथा टोखा–छहरे सडक खण्डमा सवारी सञ्चालन हुन सकेको छैन।
मकवानपुरको भीमफेदी र हेटौँडाको नेवारपानीमा गएको पहिरोका कारण कान्ति लोकपथ र महेन्द्र राजमार्ग समेत अवरुद्ध भएका छन्।
कोशी प्रदेशमा पनि बाढी तथा पहिरोले सडक यातायात प्रभावित पारेको छ। ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको नावाखोला र दोभाने खोलामा आएको बाढी तथा पहिरोका कारण तमोर करिडोर र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित क्षति न्यूनीकरण गर्न विभिन्न जिल्लामा रातिको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरमा बेलुकादेखि बिहानसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको छ। त्यस्तै, बागमती प्रदेशका काभ्रे, सिन्धुली, मकवानपुर र दोलखामा असोज ११ गतेसम्म रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
सडक अवरुद्ध हुँदा विभिन्न स्थानमा सयौँ यात्रु अलपत्र परेका छन्। अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई भने प्रहरीको समन्वयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।