काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थालाई अघिल्लो आर्थिक वर्षसम्म भुक्तानी गर्नुपर्ने सबै रकम भुक्तानी गरिएको छ।
स्वास्थ्य बीमा बोर्डले असार महिनाको ९९ करोड ७२ लाख ७५ हजार २८४ रुपैयाँ २९ पैसा भुक्तानी गरेसँगै अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी दायित्व पूरा भएको जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमाको भुक्तानीलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउँदै आएको बताउनुभयो। अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न हुनु स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ।
मन्त्री मेहताले स्वास्थ्य बीमा नागरिकको स्वास्थ्य उपचारमा पहुँच र आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण कार्यक्रम भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभयो। भुक्तानी दायित्व पूरा हुनु खुसीको विषय भएको उल्लेख गर्दै उहाँले सेवा प्रदायक स्वास्थ्य संस्थालाई समयमै भुक्तानी गर्ने प्रणालीलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बोर्डका अनुसार असार महिनाको भुक्तानीसँगै अघिल्लो आर्थिक वर्षसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई तिर्नुपर्ने रकम चुक्ता भएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन दाबी व्यवस्थापन र भुक्तानी प्रक्रियालाई नियमित तथा व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ।