काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मकवानपुरका अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर अवस्थामा उद्धार गरिएका दोङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ का दोङले सोमबार त्रिपुरेश्वरमा आफूले चलाएको बसभित्रै आत्मदाहको प्रयास गरेका थिए। ट्राफिक प्रहरीसँग भनाभन भएपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण छ।
दोङको मृत्युको खबरपछि उनका आफन्त तथा समर्थक अस्पताल परिसरमा भेला भएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेका छन्।
अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मृतकका परिवार र स्थानीय प्रशासनबीच घटनाबारे छलफल तथा समाधानको प्रयास भइरहेको छ।