काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। जात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्न रथ निर्माण, सरसफाइ, रङरोगन तथा अन्य आवश्यक कामलाई तीव्रता दिइएको छ।
दरबार क्षेत्रका काष्ठमण्डप, कुमारी घर, शिव–पार्वती मन्दिरलगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम भइरहेको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ।
अध्यक्ष शाक्यले इन्द्रजात्रालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न समितिसँग आबद्ध ३१ गुठी खलःसँग पटक–पटक बैठक तथा छलफल गरिएको जानकारी दिए। जात्राका क्रममा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीका सम्बन्धित निकायसँग पनि समन्वय गरिएको उनले बताए।
इन्द्रजात्रा राष्ट्रिय पर्व भएकाले जात्रा अवलोकन गर्न आउने अन्तर्राष्ट्रिय पर्यटकको उल्लेख्य उपस्थितिलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापनसमेत गरिएको शाक्यको भनाइ छ। जात्राका बाँकी तयारीका काम तीव्र गतिमा अघि बढिरहेको उनले बताए।
विशेषगरी नेवार समुदायमा सांस्कृतिक तथा धार्मिक महत्त्व राख्ने इन्द्रजात्रा काठमाडौं उपत्यकासहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा परम्परागत रूपमा मनाइन्छ। यस अवसरमा हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याउने धार्मिक विधि सम्पन्न गरिन्छ। लिङ्गो ठड्याउने कार्यलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ भने लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसको विशेष महत्त्व रहेको छ।
इन्द्रजात्राका अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ। अध्यक्ष शाक्यका अनुसार यसले जात्राको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्छ।
इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक प्रस्तुतिहरू देखाइन्छन्। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशावतार र देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा प्रस्तुत गरिने पुलुकिसी नाच जात्राका प्रमुख आकर्षण हुन्।
लिङ्गो ठड्याइएको आठौं दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन गरेपछि जात्राको विधिवत् समापन गर्ने परम्परा रहेको अध्यक्ष शाक्यले बताए।