धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले जग्गाको नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।
साविक रमदैया भवाडी गाविसका वडा नं २, ३, ४, ६, ७ र ८ का ती परिवारको जग्गाको नाप नक्सा विसं २०७४ मै सम्पन्न भएको थियो। तर, दर्ता प्रक्रिया पूरा हुन नसक्दा उनीहरूले लामो समयसम्म जग्गाधनी प्रमाणपुर्जा पाउन सकेका थिएनन्।
क्षीरेश्वरनाथ नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख सुखदेव यादवले जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरेका हुन्।
नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारका अनुसार नाप नक्सा सम्पन्न भइसकेका क्षीरेश्वरनाथ नगरपालिका–२ का थप २४२ परिवारलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको छ।
उनले नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्न थालिएको जानकारी दिए।
यसअघि भदौ २९ गते हंसपुर नगरपालिका–५ अन्तर्गत साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो।