काठमाडौँ । नेपाल टेलिकमले रसुवामा गएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
टेलिकमले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सचिव राजेन्द्रकुमार पौडेलको उपस्थितिमा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीलगायतको उपस्थिति थियो।
यसअघि नेपाल टेलिकमका कर्मचारीका तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोगको चेकसमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो।
बाढी प्रभावित क्षेत्रमा टेलिकमले बाढीपछि नै सेवाग्राहीका लागि करिब ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सेवा उपलब्ध गराएको जनाएको छ।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता विपद्का समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक तथा अन्य सहयोग गर्दै आएको उल्लेख छ।
विपद्का समयमा सञ्चार सेवा निरन्तर राख्नुका साथै राहत, उद्धार र पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ। रासस