काठमाडौँ ।भोटेकोशी बाढीबाट विद्युत् पूर्वाधारमा क्षति पुगेपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुनःस्थापना कार्यलाई तीव्रता दिएको छ।
मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङका करिब ९९.८ प्रतिशत, नुवाकोटका ९६.७ प्रतिशत र रसुवाका करिब ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा पनि सेवा पुर्याउन नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको छ।
बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोला जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
चिलिमे आयोजनामा आवश्यक ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्याइएको छ। रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह तथा आसपासको क्षेत्रमा पुगेको छ भने लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो र ठूला चट्टान हटाउने काम भइरहेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा मिनी एक्स्काभेटर तथा बक्याट प्रयोग गरी भग्नावशेष हटाउने कार्य जारी छ।
मैलुङ खोला आयोजनाको अवस्था बुझ्न नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत रेकी गरेको मन्त्रालयले जनाएको छ। बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत प्रभावित क्षेत्रमा कार्यालय प्रयोजनका १३ वटा र घरायसी प्रयोजनका ५०० वटा सौर्य विद्युत् प्रणाली पठाइएको छ। रसुवामा विद्युत् सेवा सञ्चालन हुन समय लाग्ने थप एक हजार २६८ घरधुरी पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
सडक अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टरमार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए।