कर्णाली । जुम्ला, मुगु र हुम्लामा उत्पादित स्याउ निर्यातको मुख्य सिजन चलिरहेका बेला कर्णाली राजमार्ग अवरुद्ध हुँदा किसान तथा व्यापारी समस्यामा परेका छन् । स्याउ बोकेर सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, पोखरा, काठमाडौं र वीरगन्जलगायतका सहरतर्फ गएका दर्जनौँ गाडी तीन दिनदेखि सडकमै रोकिएका छन् ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो । जुम्लाबाट एक–दुई दिनमै सुर्खेत तथा नेपालगन्ज पुग्ने लक्ष्यसहित हिँडेका स्याउका गाडी बाटोमै रोकिँदा स्याउ कुहिने चिन्ताले व्यापारीलाई सताएको छ ।
स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि आफूहरू समस्यामा परेको बताउनुभयो । स्वदेशमै व्यवसाय गरेर आम्दानी गर्ने अपेक्षा राखेका व्यापारीले सडककै कारण घाटा बेहोर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
“सडक कहिले खुल्ने हो थाहा छैन,” उहाँले भन्नुभयो, “अझै तीन–चार दिनपछि मात्र बाटो खुल्छ भन्ने सुनेका छौँ । त्यतिञ्जेलसम्म स्याउ कुहिएर जाने हो कि भन्ने डर छ ।”
वर्षा, बाढी र पहिरोका कारण गत वर्ष करिब रु १० लाख घाटा व्यहोर्नुभएका अर्का स्याउ व्यापारी हस्तबहादुर रावतले भरपर्दो सडक पूर्वाधार नहुँदासम्म व्यापारीको समस्या समाधान नहुने बताउनुभयो । सडक अवरुद्ध भएर स्याउमा क्षति पुगेमा राज्यले राहतको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार मनसुनजन्य विपद्का कारण स्याउ व्यवसायमा ठूलो असर परेको छ । उहाँका अनुसार यस वर्ष जुम्लामा १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएकामा हालसम्म करिब ५० प्रतिशत निर्यात भइसकेको छ ।
उहाँले सडक अवरुद्ध हुँदा स्याउ बोकेका दर्जनौँ गाडी गन्तव्यतर्फ जान नसकेको र त्यसबाट व्यापारीसँगै समग्र जुम्लाले क्षति बेहोर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार शनिबार राति ७ बजेदेखि कर्णाली राजमार्गको गगने खोलामा पहिरो गएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो । आइतबार कालीकोटको पिली र एस मोडमा समेत पहिरो तथा ढुङ्गा खस्दा सडकमा थप क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
सडक खुलाउन आइतबार बिहान ५ बजेदेखि मेसिन तथा प्राविधिक टोली परिचालन गरिएको छ । लेदो, ढुङ्गा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएकाले हाल सडकको अवस्था जोखिमपूर्ण रहेको कार्यालयले जनाएको छ ।
महताराले आधिकारिक सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न यात्रु तथा सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभयो ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको भए पनि आवागमन सहज हुन अझै करिब तीन दिन लाग्न सक्ने कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन विभिन्न स्थानमा रोकिएका छन् । यस्तै, सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ गएका सवारीसाधन दैलेखको राकम, खिड्कीज्यूला र दही खोलालगायतका क्षेत्रमा रोकिएका छन् ।
सडक अवरुद्ध हुँदा माथिल्लो कर्णालीबाट स्याउ बोकेर आएका गाडी तीन दिनदेखि बाटोमै थन्किएका छन् । यसबाट स्याउ व्यापारीलाई आर्थिक क्षति हुने जोखिम बढ्नुका साथै यात्रुसमेत सास्तीमा परेका प्रहरीले जनाएको छ।