काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रोकिएको हनुमानढोका दरबार क्षेत्रको उत्तर दलानमा हुने नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनः सञ्चालनमा आएको छ।
गुठी संस्थानअन्तर्गत रहेको गीता स्वाध्याय सङ्गम सनातन धार्मिक प्रवचन गुठीले राणाकालदेखि हनुमानढोका दरबारका विभिन्न स्थानमा नियमित आध्यात्मिक प्रवचन गर्दै आएको थियो। पछि राजा महेन्द्रको कार्यकालमा उत्तर दलानमा प्रवचन सञ्चालनका लागि स्थान उपलब्ध गराइएको थियो।
उत्तर दलानको पुनःनिर्माण सम्पन्न भएपछि यही भदौ १४ गतेदेखि श्रीमद्भागवत भक्ति ज्ञान महायज्ञ आयोजना गरी नित्य प्रवचन पुनः सुरु गरिएको गुठीका अध्यक्ष पण्डित मधुसुदन पौडेलले जानकारी दिए।
उनका अनुसार महायज्ञ भदौ २८ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञसँगै दैनिक दुईदेखि तीन घण्टासम्म नियमित आध्यात्मिक प्रवचनसमेत भइरहेको छ।
स्थापनाकालदेखि हनुमानढोकाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको प्रवचनमा प्रत्येक वर्ष शारदीय नवरात्रका अवसरमा श्रीमद्देवी भागवत कथा वाचन गर्ने परम्परा रहेको बताइएको छ। त्यतिबेला प्रवचनबाट प्राप्त प्रसाद तत्कालीन राजदरबारमा पठाउने गरिएको थियो। राजतन्त्रको अन्त्यपछि भने प्रसाद राष्ट्रपतिको कार्यालय शीतल निवासमा पठाउने गरिएको अध्यक्ष पौडेलले बताए।
नित्य प्रवचन सञ्चालनका लागि गुठी संस्थानको काठमाडौं शाखाले मासिक एक हजार ६०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ। प्रवचन सञ्चालनका लागि आवश्यक बाँकी खर्च गुठी आफैँले व्यवस्थापन गर्दै आएको पौडेलले जानकारी दिए।
प्रवचन पुनः सञ्चालन गर्न काठमाडौं महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले विशेष सहयोग गरेको गुठीले जनाएको छ।
गुठी संस्थानका अनुसार जयदेव पौडेलले सुरु गरेको हनुमानढोका दरबार क्षेत्रको नित्य प्रवचनलाई अर्जुनप्रसाद धिताल, मधुसुदन रिसाल, गोविन्द भट्टराईलगायत पण्डितले निरन्तरता दिँदै आएका छन्।