काठमाडौं। भदौ १० गतेको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट ३२ हजार ९३३ नागरिक प्रत्यक्ष प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक आकलन छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले सार्वजनिक गरेको ‘शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट ४८ सरकारी संरचनामा क्षति पुगेको छ । तीमध्ये ३५ पूर्ण र १३ आंशिक रूपमा क्षतिग्रस्त छन् । १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ ।
बाढीले ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने ३७ मोटरेबल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको छ । कृषितर्फ १ हजार ८०६ हेक्टर जमिनमा क्षति पुग्दा ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने अनुमान गरिएको छ ।
ऊर्जा क्षेत्रमा ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ । १३ जलविद्युत् आयोजना, एक सोलार प्लान्ट र दुई प्रसारण लाइनमा क्षति पुगेको छ । प्रभावित क्षेत्रमा १७ बैंकका शाखामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यो विवरण प्रारम्भिक आकलन भएकाले विस्तृत क्षति विवरण आउन बाँकी रहेको बताएको छ ।