धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङका त्रिशूली नदी तथा यसका सहायक खोलामा रहेका १६ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० गते आएको बाढीले ग्रामीण क्षेत्रलाई जोड्ने महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्याएको हो ।
बाढीबाट सबैभन्दा बढी गल्छी गाउँपालिकाका ८ वटा, बेनीघाट रोराङ गाउँपालिकाका ६ वटा र गजुरी गाउँपालिकाका २ वटा झोलुङ्गे पुलमा पूर्ण क्षति पुगेको छ ।
गल्छी गाउँपालिकाअन्तर्गत फोस्रेटार–केउरीनी, जिन्टेटार, कोल्पुखोला, धैरेनी, आमटार, चिरौदी र मासटार क्षेत्रका पुलहरू बाढीले पूर्ण रूपमा बगाएको प्रशासनले जनाएको छ । पुलहरू बगेपछि धादिङ र नुवाकोटको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयको आवतजावत प्रभावित भएको छ ।
गजुरी गाउँपालिकामा कालिकास्थान–माझिटार जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
त्यस्तै, बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत त्रिशूली नदीमा रहेका मलिङ्गा–मभिल्ला, चिरौदी–घ्याल्चोक, चौकीटार घाट, तिक्राङ, कोती र धवादी क्षेत्रका झोलुङ्गे पुलमा समेत पूर्ण क्षति पुगेको छ । यीमध्ये अधिकांश पुलले धादिङलाई गोरखा तथा गण्डकी गाउँपालिकासँग जोड्ने काम गर्दै आएका थिए ।
प्रशासनका अनुसार बाढीले थप ७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुर्याएको छ । राजमार्ग सामुदायिक अस्पताल–फिस्टार, बादरे, बोरे–सिउरेनीटार, भैंसीगौडा, बेलिनटार, भुतिया र बिहानी पम्प–खर्मटार क्षेत्रका पुलमा आंशिक क्षति पुगेको हो ।
पूर्ण र आंशिक गरी जिल्लामा २३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ । पुल नहुँदा स्थानीयलाई आवतजावत, बालबालिकालाई विद्यालय पुग्न तथा बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थासम्म लैजान कठिनाइ भएको छ ।
झोलुङ्गे पुलसँगै बाढीले धादिङका ७ वटा पक्की पुलमा पनि पूर्ण क्षति पुर्याएको छ । कोल्पुटार, जहरेखेत, घाटबेसी, फुर्केखोला र जिन्टेटारलगायत रणनीतिक महत्वका पुल बाढीले बगाएको प्रशासनले जनाएको छ ।