काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि आईएमई ग्रुपले प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
सोमबार अर्थ मन्त्रालयमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराएको जनाएको छ।
चेक हस्तान्तरणपछि ढकालले बाढीपीडितका लागि विदेशबाट प्रधानमन्त्री राहत कोषमा रकम पठाउँदा आईएमईले आगामी १० सेप्टेम्बरसम्म रेमिट्यान्स शुल्क नलिने बताए। उनका अनुसार हालसम्म करिब २० हजार कारोबारमार्फत विदेशबाट करिब १६ करोड रुपैयाँ कोषमा जम्मा भइसकेको छ। सेप्टेम्बर १० सम्म रेमिट्यान्समार्फत करिब ५० करोड रुपैयाँ सहयोग जुट्ने अपेक्षा रहेको उनले बताए।
‘विश्वको जुनसुकै देशका नागरिकले पनि निःशुल्क रूपमा प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न सक्नुहुनेछ,’ ढकालले भने।
विपद् गम्भीर रहेको भन्दै उनले निजी क्षेत्र र आम नागरिकलाई सरकारसँग सहकार्य गर्दै उद्धार तथा राहतमा जुट्न आग्रह गरे। बेपत्ताको खोजी, घाइतेको उपचार, पीडितलाई राहत र शव व्यवस्थापनलाई तत्काल प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
आईएमई ग्रुपले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितका लागि खाद्यान्न तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।