महोत्तरी -मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको छ । साउन शुक्लपक्षको तृतीयाका दिन सुरु हुने झुला पर्व साउन पूर्णिमाको मध्यरातमा सम्पन्न भएको हो ।
साउन शुक्लपक्षका पछिल्ला १३ दिन मिथिला क्षेत्रमा मनाइने झुला पर्वमा परम्पराअनुसार विष्णु–लक्ष्मीका प्रतिमा झुलाइन्छ । पूर्णिमाको मध्यरातपछि झुला हल्लाउने डोरी छिनाएर पर्व सम्पन्न गर्ने परम्परा छ ।
भगवान् विष्णु र भगवती लक्ष्मीको आराधनामा आधारित यो पर्व मिथिलाका मठमन्दिरमा सामूहिकरूपमा मनाइन्छ । विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता तथा कृष्ण–राधाका प्रतिमालाई विशेष झुला ९कोक्रा अर्थात् एक प्रकारको कलात्मक पिङ० मा राखेर हल्लाउनु यस पर्वको मुख्य विधि हो । श्रद्धालुले झुलाको डोरी समाएर झुला गीत गाउँदै देवदेवीका प्रतिमा हल्लाउने गर्छन् ।
साउन पूर्णिमाको मध्यरात कटेपछि देवदेवीलाई झुलाइने झुलाको डोरी छिनाएर १३ दिने पर्व सम्पन्न गरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले जानकारी दिए। उनका अनुसार यो पर्व वैष्णव परम्पराका मठमन्दिरमा मनाइने मिथिलाको पुरानो परम्परा हो ।
मिथिलामा जनकपुरधामस्थित जानकी मन्दिर तथा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको झुलाघरको झुला उत्सव प्रसिद्ध छ । यस अवसरमा पायक पर्ने मुख्य मठ तथा मन्दिरमा वरपरका अन्य मठमन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा ल्याएर सामूहिकरूपमा उत्सव मनाउने चलन छ । महोत्तरीमा विभिन्न स्थानका मन्दिरमा रहेका राम–सीता तथा राधा–कृष्णका प्रतिमा मुख्य मठ तथा मन्दिरमा ल्याएर पर्व मनाइन्छ । रासस