चीन। नेपाल–चीन सीमा नाकामा गएको पहिरोमा परी चीनतर्फ तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन्। चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको जिरोङ (केरुङ) काउन्टीस्थित सीमा नाकामा बुधवार बिहान पहिरो गएको हो।
स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई स्थानीय बासिन्दालाई सकुशल उद्धार गरिएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको उनीहरूले बताएका छन्।
बिहीवार बिहान ८ बजे आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीहरूले पहिरो नेपाली भू–भागबाट सुरु भएर सीमावर्ती नाका क्षेत्रमा पुगेको बताए।
नेपालसँगको व्यापारका दृष्टिले जिरोङ काउन्टी महत्त्वपूर्ण सीमा नाका हो। घटनापछि बेपत्ताको खोजी तथा उद्धारलाई तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ।