काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट दुवैतर्फ ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिएका छन्।
तिब्बततर्फबाट आएको अचानकको बाढीले चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ग्यारोङ काउन्टीमा ठूलो क्षति पुर्याएको छ। बाढीसँगै आएको लेदो र पहिरोका कारण चीन–नेपाल सीमा क्षेत्रमा रहेको ग्यारोङ बन्दरगाहको सडक, सञ्चार तथा विद्युत् संरचनामा क्षति पुगेको छ।
सिन्ह्वाको समाचारका अनुसार राष्ट्रपति सीले बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिन, राहत तथा उद्धारका लागि उपलब्ध सबै स्रोत र जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन्। उनले थप विपद्को जोखिम न्यूनीकरणका लागि जोखिमको निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन पनि जोड दिएका छन्।
ग्यारोङ बन्दरगाह नेपालसँगको प्रमुख व्यापारिक स्थलमार्गमध्ये एक हो।
नेपालतर्फ भने रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीका कारण रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीलगायतका क्षेत्रमा सडक, बस्ती, सरकारी संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। नेपालतर्फ हालसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवागढी भन्सार क्षेत्र तथा विभिन्न जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालन भएका छन्।
तिब्बत क्षेत्रमा रहेका हिमतालबाट अचानक पानी बाहिरिएपछि बाढी आएको हुन सक्ने आशंका गरिए पनि यसको कारणबारे हालसम्म आधिकारिक पुष्टि भएको छैन।