सुनसरी, ९ भदौ । आकर्षक बगैँचा, लटरम्म फलेका ड्रागन फ्रुट र किसानको अनुहारमा खुसीको मुस्कान । सुनसरीको रामधुनी नगरपालिका–७ का कृपाश्वर घले गुरुङको परिचय अहिले यही बनेको छ ।
करिब २८ वर्ष भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका घलेले विसं २०७४ देखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । उनले दुई बिघा क्षेत्रफलमा खेती विस्तार गरेर वार्षिक रु ५५ लाखदेखि ६० लाखसम्म आम्दानी गर्दै आएका छन् ।
करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट उनले ड्रागन फ्रुट खेती सुरु गरेका थिए । सुरुमा यसको बजार र स्वास्थ्य उपयोगिताबारे पर्याप्त जानकारी नभए पनि उत्पादन र माग बढ्दै गएपछि उनले खेती विस्तार गरेका हुन् । हाल उनको फार्ममा करिब ५०० बोट छन् ।
घलेले विसं २०७४ मा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक उत्पादन सुरु गरेका थिए । उनका अनुसार अन्य धेरै फलफूलले वर्षमा एकपटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले अनुकूल मौसममा नौदेखि १० पटकसम्म उत्पादन दिने भएकाले आम्दानी नियमित हुन्छ ।
फार्म सञ्चालन, मल, औजार तथा मजदुरका लागि वार्षिक रु आठदेखि नौ लाखसम्म खर्च हुने गरेको घलेले बताए । फल बिक्रीसँगै बिरुवाबाट समेत आम्दानी हुने गरेको छ । उनले वार्षिक रु चार लाखभन्दा बढीको ड्रागन फ्रुटका बिरुवा बिक्री गर्दै आएका छन् ।
उनका अनुसार विगतमा प्रतिगोटा रु चारदेखि पाँचमा बिक्री हुने बिरुवाको मूल्य अहिले माग बढेसँगै रु ५० देखि ७० सम्म पुगेको छ । फार्मबाट उत्पादित ड्रागन फ्रुट खुद्रामा प्रतिकिलो रु ३५० र थोकमा रु ३०० मा बिक्री हुन्छ । बेमौसममा भने यसको मूल्य प्रतिकिलो रु ४५० देखि ५०० सम्म पुग्ने गरेको छ ।
फार्ममा मासिक रु १६ हजार तलब पाउने दुई जना स्थायी कर्मचारी छन् । दैनिक रु ८०० ज्यालामा आठदेखि नौ जना मजदुरले काम गर्छन् । फल टिप्ने र मल हाल्ने समयमा थप मजदुर परिचालन गर्ने गरिएको घलेले बताए ।
गत वर्ष फार्मबाट २७ मेट्रिकटन ड्रागन फ्रुट उत्पादन भएको थियो । यस वर्ष भने उत्पादन बढेर ३० मेट्रिकटनभन्दा बढी पुग्ने अनुमान गरिएको छ । उत्पादित फल काठमाडौँ, पोखरा, हेटौँडा र बुटवलसम्म पठाउने गरिएको छ । धरान, इटहरी, इनरुवा र विराटनगरलगायत स्थानीय बजारमा पनि बिक्री हुने गरेको छ । कतिपय व्यापारी फार्ममै आएर फल खरिद गर्ने गरेका छन् ।
घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला तथा अत्यधिक चिसो नहुने स्थान उपयुक्त हुन्छ । कहिलेकाहीँ ढुसी तथा फङ्गसको समस्या देखिए पनि नियमित निगरानी र उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनको अनुभव छ । गत वर्ष फङ्गसको समस्या देखिए पनि यस वर्ष त्यसको प्रभाव कम भएकाले उत्पादन बढ्ने उनको भनाइ छ ।
ड्रागन फ्रुटमा वैशाखदेखि फूल लाग्न सुरु हुन्छ भने जेठको अन्तिम सातादेखि फल टिप्न थालिन्छ । कात्तिकसम्म उत्पादन जारी रहने घलेले बताए । उनका अनुसार बत्ती जडान गरेर बेमौसममा समेत तीनदेखि चार पटकसम्म फल उत्पादन गर्न सकिन्छ । बेमौसममा उत्पादन हुने फलको मूल्यसमेत बढी हुने गरेको छ ।
कृषि व्यवसायबाट आफूले राम्रो आम्दानी गर्नुका साथै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्न सकेको घलेले बताए । “अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने ।
ड्रागन फ्रुट खेतीमा योगदान पुर्याएबापत घलेले उत्कृष्ट किसानका रूपमा विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मानसमेत प्राप्त गरिसकेका छन् । पछिल्लो समय युवापुस्तामा पनि ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनको अनुभव छ ।
रामधुनी नगरपालिका–७ मा मात्रै हाल १० भन्दा बढी घरधुरीले ड्रागन फ्रुट खेती गरिरहेका छन् । विदेशबाट फर्किएका युवासमेत यस खेतीमा लागेर राम्रो आम्दानी गरिरहेको घलेले बताए ।
“दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् । अर्काको देशमा दुःख गर्नुपर्ने अवस्था आउँदैन,” उनले भने, “छोटो समयमा राम्रो आम्दानी गर्न चाहनेका लागि ड्रागन फ्रुट खेती राम्रो विकल्प बन्न सक्छ ।”
उनका अनुसार सुरुआतमा केही मेहनत र लगानी आवश्यक भए पनि बिरुवा रोपेको करिब एक वर्षदेखि नै फल दिन सुरु गर्ने भएकाले ड्रागन फ्रुट खेतीबाट तुलनात्मक रूपमा छिटो आम्दानी लिन सकिन्छ ।