तनहुँ । तनहुँमा पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका १० वटै स्थानीय तहमा पुगेर विभिन्न रोगविरुद्ध एक लाख ९० हजार २०१ डोज खोप लगाइएको हो।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार खोरेतविरुद्ध ३९ हजार ८४९, लम्पी स्किनविरुद्ध १० हजार ५७८, पिपिआरविरुद्ध एक लाख ३१ हजार ४७१ र बङ्गुरको हैजाविरुद्ध आठ हजार ३०० डोज खोप लगाइएको छ।
खोप कार्यक्रममार्फत खोप योग्य गाईभैँसीमध्ये करिब ५० प्रतिशतलाई खोरेतविरुद्ध, ५५ प्रतिशत बाख्रालाई पिपिआरविरुद्ध र ३५ प्रतिशत बङ्गुरलाई हैजाविरुद्ध खोप लगाइएको अधिकारीले जानकारी दिए।
स्थानीय तहगत रूपमा व्यास नगरपालिकामा १६ हजार ५८४, शुक्लागण्डकीमा १७ हजार ६५६, भानुमा २६ हजार सात, भिमादमा २४ हजार ३५१ र आँबुखैरेनी गाउँपालिकामा १९ हजार ९५८ पशुलाई खोप दिइएको छ।
त्यस्तै, ऋषिङ गाउँपालिकामा २० हजार १४१, घिरिङमा २१ हजार ५०७, बन्दीपुरमा १४ हजार ९८९, म्याग्देमा नौ हजार २४ र देवघाटमा १९ हजार ९८४ पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ।
अधिकारीका अनुसार पूर्ण खोप कार्यक्रम सञ्चालन भएका क्षेत्रमा खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाको प्रकोप देखिएको छैन। उनले पशुमा सङ्क्रामक रोगको जोखिम न्यूनीकरणका लागि नियमित खोप कार्यक्रम आवश्यक रहेको बताए।
“पूर्ण खोप कार्यक्रम सञ्चालन भएपछि जिल्लामा खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाको प्रकोप देखिएको छैन,” अधिकारीले भने, “खोपलाई नियमित र प्रभावकारी बनाउन सके पशुधनको सुरक्षा हुनुका साथै किसानले व्यहोर्नुपर्ने आर्थिक क्षतिसमेत कम गर्न सकिन्छ।”
कार्यालयले जिल्लाका ८५ वडाका एक हजार ११३ टोलमा पुगेर खोप सेवा प्रदान गरेको थियो। त्यसका लागि ९३ जना खोपकर्ता परिचालन गरिएको थियो। स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी पशुपालक किसानको पहुँचमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
पूर्ण खोप कार्यक्रमका लागि एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएकामा ९० लाख ४३ हजार रुपैयाँ खर्च भएको छ। पशुमा लाग्ने सङ्क्रामक रोगका कारण पशुधनमा प्रत्यक्ष क्षति हुनुका साथै दूध तथा मासु उत्पादनमा समेत असर पर्ने भएकाले रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ।
खोरेत, लम्पी स्किन र पिपिआरजस्ता रोग फैलिँदा ठूलो सङ्ख्यामा पशु प्रभावित हुनसक्ने भएकाले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै खोपमार्फत रोकथाम गर्नु प्रभावकारी हुने अधिकारीको भनाइ छ।
कार्यालयले पूर्ण खोपसँगै पशु स्वास्थ्य सेवा तथा पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। पशुपालक किसानलाई समयमै प्राविधिक सेवा उपलब्ध गराउने, रोगको निगरानी तथा नियन्त्रण गर्ने र पशुजन्य उत्पादन बढाउने उद्देश्यले सेवा विस्तार भइरहेको अधिकारीले बताए।