काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो सांगठनिक सञ्जाल १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य लिएको छ । विदेशमा रहेका नेपालीको सीप, पुँजी र क्षमतालाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यसहित संघले आफ्नो दायरा विस्तार गर्न लागेको हो ।
नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार काठमाडौंमा आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपाली समुदायको सामर्थ्य नेपालसँग जोड्नु संघको प्रमुख उद्देश्य रहेको बताए ।
शर्माका अनुसार विश्वका ११० भन्दा बढी मुलुकमा नेपालीको उपस्थिति छ भने ९२ देशमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) छन् । चालु कार्यकालमा एनसीसीको सञ्जाल १०० भन्दा बढी देशमा पुर्याउने लक्ष्य रहेको उनले बताए ।
‘त्यहाँ रहेको अथाह सम्भावनालाई नेपालसँग जोड्नुपर्छ भन्ने नै एनआरएनएको प्रमुख उद्देश्य हो,’ शर्माले भने ।
विदेशमा रहेका नेपाली जनशक्ति र उनीहरूको आम्दानी क्षमता नेपालभित्रको जनशक्तिभन्दा ठूलो हुँदै गएको उल्लेख गर्दै शर्माले त्यसलाई नेपालको विकाससँग जोड्नुपर्ने बताए । नेपाली उत्पादनको पहुँच विश्वका विभिन्न सहरमा बढ्दै गएको र पछिल्लो समय ढुवानी लागतसमेत घटेकाले अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना बढेको उनको भनाइ थियो ।
‘यो भूगोललाई हटाइदिने हो भने हामी जहाँ बसे पनि नेपाली नै हौँ,’ शर्माले भने ।
एनआरएनए र नेपाल चेम्बर अफ कमर्सबीचको समझदारीले वैदेशिक लगानी भित्र्याउन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्न तथा विदेशमा रहेका नेपालीको सीप र पुँजीलाई नेपालसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।