काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीको वातावरणमा तत्काल सुधार नगरे स्वदेशी पुँजीसमेत विदेशिन सक्ने चेतावनी दिएका छन्। आर्थिक नीति कागजमा राम्रो भए पनि कमजोर कार्यान्वयन र प्रशासनिक झमेलाका कारण लगानीको वातावरण प्रभावित भइरहेको उनको आरोप छ।
नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार समझदारीपत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा अग्रवालले संसद्बाट बनेका कानुनको प्रभावकारिता नियमावली र विभागीय कार्यविधिका कारण कमजोर हुने गरेको बताए। कानुनी तथा प्रशासनिक प्रक्रियामा हुने ढिलाइले लगानीकर्तालाई निरुत्साहित गरिरहेको उनको भनाइ छ।
“कानुनी सुधार मात्र पर्याप्त छैन, त्यसको प्रभावकारी कार्यान्वयन आजको मुख्य चुनौती हो,” अग्रवालले भने।
प्राकृतिक स्रोत र सम्भावना पर्याप्त भए पनि सही नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपालले अपेक्षित आर्थिक गति लिन नसकेको उनले बताए। लगानीमैत्री वातावरण निर्माण नगरे स्वदेशी लगानीकर्तासमेत बाहिरिनुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ।
“यदि हामीले आगामी दिनमा लगानीमैत्री वातावरण बनाउन सकेनौँ भने स्वदेशी लगानीकर्ताहरू समेत बाहिरिनुपर्ने अवस्था आउन सक्छ,” उनले भने।
अग्रवालले विश्वभर छरिएर रहेका नेपालीको पुँजी, ज्ञान, सीप र प्रविधिलाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिए। ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनाअनुसार गैरआवासीय नेपालीलाई मुलुकको आर्थिक विकासमा सहभागी गराउनुपर्ने उनको भनाइ छ।
चेम्बर र एनआरएनएबीच भएको समझदारीमार्फत लगानी प्रवर्द्धन, पुँजी परिचालन तथा नेपालीको ज्ञान, सीप र प्रविधिलाई स्वदेशमा उपयोग गर्ने क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ। दुवै संस्थाले नेपालको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्र तथा गैरआवासीय नेपालीबीच सहकार्य थप विस्तार गर्ने बताएका छन्।