काठमाडौं । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि डिजिटल भुक्तानी सहज र सुरक्षित बनाउन मास्टरकार्डले नेपालमा आफ्नो ‘पे लोकल’ सेवा सुरु गरेको छ । यसका लागि मास्टरकार्डले डिजिटल वालेट तथा एकीकृत क्यूआर भुक्तानी प्लेटफर्म मोकोसँग सहकार्य गरेको हो ।
सहकार्यअन्तर्गत विदेशी पर्यटकले आफ्नो मास्टरकार्ड ‘मोको ट्राभल एप’मा लिंक गरी नेपालपे र फोनपे क्यूआर भएका मर्चेन्टमा भुक्तानी गर्न सक्नेछन् । मोको ट्राभल एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध छ ।
सेवा प्रयोग गरेपछि पर्यटकले नगद बोक्नुपर्ने, मुद्रा साट्नुपर्ने वा प्रिपेड खातामा रकम जम्मा गरिरहनुपर्ने झन्झट हट्ने कम्पनीले जनाएको छ । होटल, रेस्टुरेन्ट, खुद्रा पसल, स्थानीय बजारलगायत पर्यटकीय व्यवसायमा रहेका क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ ।
मास्टरकार्डका कन्ट्री म्यानेजर (श्रीलंका, माल्दिभ्स, बंगलादेश, भुटान र नेपाल) सन्दुन हापुगोडाले अन्तर्राष्ट्रिय पर्यटकले यात्राका क्रममा सहज, सुरक्षित र सुविधाजनक भुक्तानीको अपेक्षा गर्ने बताए ।
‘मोकोमा उपलब्ध मास्टरकार्ड ‘पे लोकल’ सेवामार्फत पर्यटकले आफूसँग भएकै कार्ड नेपालको बृहत् क्यूआर इकोसिस्टममा प्रयोग गर्न सक्नेछन्,’ उनले भने । यसले पर्यटकलाई भुक्तानीको झन्झट कम गर्नुका साथै स्थानीय व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ छ ।
फोकसवान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले सहकार्यले विदेशी पर्यटकलाई नेपालको क्यूआर भुक्तानी प्रणालीमा सहज पहुँच दिनुका साथै स्थानीय मर्चेन्टलाई पनि लाभ पुग्ने बताए ।
मास्टरकार्डले यसअघि चीन, इन्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंकामा ‘पे लोकल’ सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ ।