काठमाडौं । भदौ महिना सुरु भएसँगै अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य सार्वजनिक गरेको हो ।
चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यसूचीअनुसार सबै प्रकारका अन्डाको मूल्य बढाइएको छ । संघका अनुसार अब एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य ५७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य ५३५ रुपैयाँ तोकिएको छ । सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ ।
संघले एक सातामै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो । यसअघि साउन ३० गतेदेखि लागू हुने गरी एक्सएल अन्डाको मूल्य ५७५ रुपैयाँ, ठूलो अन्डाको ५६० रुपैयाँ र मिडियम अन्डाको ५२० रुपैयाँ निर्धारण गरिएको थियो ।
पछिल्लो समय अन्डाको मूल्य निरन्तर बढ्दै आएको छ । साउन महिनामा मात्रै संघले अन्डाको समर्थन मूल्य चारपटक वृद्धि गरेको थियो । साउनको सुरुवातमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ रहेकामा महिनाको अन्त्यसम्म ५७५ रुपैयाँ पुगेको थियो । भदौ सुरु भएसँगै थप १५ रुपैयाँ बढाएर एक्सएल अन्डाको मूल्य ५९० रुपैयाँ पुर्याइएको हो ।
व्यवसायीहरूले अन्डाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको कमी रहेको बताएका छन् । बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा उल्लेख्य गिरावट आएको र बजारको माग धान्न कठिन भएपछि मूल्य बढाउनुपरेको संघका अध्यक्ष विनोद पोखरेलले बताएका छन् ।