काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज, सई (सहायक निरीक्षक) गणेशप्रसाद श्रेष्ठ होटेलबाट युवतीसहित रंगेहात पक्राउ परेका छन् ।
जिम्मेवारी र मर्यादाविपरीत कानुनविपरीतको कार्य गरेको भन्दै स्थानीय बासिन्दाले उनलाई मध्यरातमा नमोबुद्ध होटेलबाट नियन्त्रणमा लिएका हुन् । स्थानीयले नै नियन्त्रणमा लिएर उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको जिम्मा लगाएका थिए ।
उत्कृष्ट प्रहरीको सम्मान पाएका थिए श्रेष्ठ
पक्राउ परेका सई श्रेष्ठ केही महिनाअघि मात्र, अर्थात् गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ‘उत्कृष्ट प्रहरी’ घोषित भएका थिए । तर, जिम्मेवार पदमा रहेका प्रहरी अधिकारी नै यसरी अनपेक्षित गतिविधिमा संलग्न भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले सई श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला ल्याएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीका अनुसार श्रेष्ठ र ती युवतीसहित दुवैजना अहिले प्रहरीको नियन्त्रणमा छन् । एसपी कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।