काठमाडौं। नाइमा अटो शोमा आइतबारसम्म १ लाख ६५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यसपटकको प्रदर्शनी अघिल्लो संस्करणको तुलनामा दर्शक र व्यावसायिक सहभागिता दुवै हिसाबले उत्साहजनक रहेको जनाएको छ।
प्रदर्शनीको अन्तिम दिन नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले दर्शक संख्या १ लाख ७० देखि ७५ हजारसम्म पुग्ने अनुमान गरिएको बताइन्। अघिल्लो संस्करणमा करिब १ लाख दर्शकले प्रदर्शनी अवलोकन गरेका थिए।
‘गाडी बुकिङको अवस्था अपेक्षाभन्दा निकै राम्रो छ,’ वैद्यले भनिन्, ‘आधिकारिक तथ्यांक दिन अहिले नै गाह्रो भए पनि यसले आयातकर्ता र ब्रान्डहरूका लागि व्यवसाय विस्तारको राम्रो आधार तयार गरेको छ।’
यसपटक ५५ ब्रान्डका सवारीसाधन तथा अन्य उत्पादन प्रदर्शनीमा राखिएका थिए। गत संस्करणमा ४२ ब्रान्ड सहभागी थिए। विभिन्न स्टलमा ग्राहकले बुकिङ गरेकाले बिक्रीको यकिन तथ्यांक केही समयपछि मात्र स्पष्ट हुने नाइमाले जनाएको छ।
प्रदर्शनीस्थलको सीमितताका कारण सबै व्यावसायिक सवारीसाधनका ब्रान्डलाई समेट्न नसकिएको नाइमाले जनाएको छ। आगामी दिनमा व्यावसायिक सवारीसाधनका लागि छुट्टै एक्स्पो आयोजना गर्नेबारे अध्ययन गरिने वैद्यले बताइन्।
दर्शकको चापका कारण पार्किङमा केही चुनौती देखिए पनि बैंकिङ, बिमा, फुड स्टल र सुरक्षासहित समग्र व्यवस्थापन प्रभावकारी रहेको नाइमाको दाबी छ। ३–एस (सेल्स, स्पेयर पार्ट्स र सर्भिस) अवधारणाअनुसार वितरकको उपस्थितिले ग्राहकलाई सहजता भएको पनि नाइमाले जनाएको छ।