काठमाडौँ । भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्। सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ आइतबार अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिनेछ। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।
यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त मानार्थ दर्जा प्रदान गरेकी थिइन्।
दुवै देशका प्रधानसेनापति नियुक्त भएपछि एकअर्काको देशमा भ्रमण गर्ने परम्परा समेत रहिआएको छ। यही परम्पराअनुसार भारतीय प्रधानसेनापति सेठको नेपाल भ्रमण हुन लागेको हो।