काठमाडौं। नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुशासन कायम गर्न सरकारी सेवा ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ बनाउनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक अभिमुखीकरण कार्यक्रममा बोल्दै पाण्डेले सरकारी सेवाका सबै प्रक्रिया डिजिटल प्रणालीमा लैजानुपर्ने बताए। उद्योग विभागका सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालनमा आउनु सकारात्मक भएको उल्लेख गर्दै उनले विगतमा डिजिटल सेवा भनिए पनि सेवाग्राहीले फाइल बोकेर कार्यालय धाउनुपर्ने अवस्था रहेको बताए।
‘गुड गभर्नेन्सको बेसिक फण्डामेन्टल भनेको कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस इनिसियटिभ हुनुपर्छ,’ उनले भने।
पाण्डेले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी निकायका प्रणालीलाई आपसमा अन्तरसम्बन्धित बनाउनुपर्नेमा जोड दिए। एउटै विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गरी प्रणालीबीच सूचना आदानप्रदान हुने व्यवस्था गर्न सके सेवा प्रवाह प्रभावकारी हुने र समय तथा लागत घट्ने उनको भनाइ छ।
डिजिटल प्रणालीले व्यवसाय सञ्चालनको लागत घटाउनुका साथै दक्षता बढाउने र स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न सहयोग पुग्ने पाण्डेले बताए। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्नसमेत यस्तो प्रणाली प्रभावकारी हुने उनको विश्वास छ।